सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणले नयाँ रूप लिएको छ ।
सामूहिक बलात्कारपछि आत्महत्या गर्न बाध्य पारिएको आशङ्कामा सुरु भएको घटनामा प्रहरीले थप तीन जनालाई मुद्दा चलाउन अदालतबाट म्याद लिएको छ । प्रकरणले गाउँको पञ्चायत प्रथा र न्याय माग्ने परिवारमाथिको सामाजिक दबाबलाई पनि उजागर गरेको छ ।
गत माघ २७ गते साँझ शौच गर्न निस्केकी रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनापछि गाउँमा पञ्चायत बसेर प्रकरणलाई दबाउने प्रयास भएको थियो । तर, पञ्चायतको दबाबपूर्ण बैठक भएको केही घण्टामै रिंकु आफ्नै घरमा मृत अवस्थामा फेला परिन् । सुरुमा आत्महत्याको आशङ्कामा अनुसन्धान सुरु भएको थियो, तर पछि बलात्कारको रहस्य बाहिरिएपछि घटनाले स्थानीय समुदायमा ठूलो तरङ्ग ल्यायो ।
धनुषा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार, पीडित परिवारले किटानी जाहेरी दिएका पाँच जनाबाहेक अनुसन्धानका क्रममा पक्राउ परेका आठ जनामध्ये तीन जना– चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास– पञ्चायतमा संलग्न रहेको पाइएको छ । तीनै जना भगवतीपुरका स्थानीय हुन् । उनीहरूले घटना मिलाउन र पीडित परिवारलाई दबाब दिन भूमिका खेलेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ ।







