२२ भदौ , काठमाडौं। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो।



केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीलगायतका स्थानमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण कैयौँ घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी पुगेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको कांग्रेसले जनाएको छ। रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे।








