
विश्वास डेस्क
भदौ १२ बारा।श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूले जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन्। आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि बिहानैदेखि वैदिक अनुष्ठानहरू भइरहेका छन्।
आजको दिन नदी, तलाउ तथा जलाशयमा स्नान गरी वशिष्ठ, काश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्तऋषि तथा प्रजापतिहरूको पूजा र तर्पण गर्ने परम्परा छ। तागाधारीहरूले पुरानो जनै त्यागेर मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन्। जनै धारण गर्नाले आयु, बुद्धि, तेज र अनुशासन अभिवृद्धि हुने धार्मिक विश्वास छ।
यसैगरी आज गुरु-पुरोहितको हातबाट नाडीमा मन्त्रिएको रक्षाडोरो बाँध्ने गरिन्छ। पौराणिक मान्यताअनुसार देवगुरु वृहस्पतिले दानवराज बलिलाई बाँधेर देवगणको रक्षा गरेको स्मरणमा रक्षाबन्धनको परम्परा चलेको हो।
साथै, दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नाडीमा ‘राखी’ बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार दिँदै सुरक्षाको वचन दिने सांस्कृतिक परम्परा पनि देशभर उत्साहका साथ मनाइँदै छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







