कार्तिक ७ बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बारा जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित मेधा शाहीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले बधाई तथा सम्मान व्यक्त गरेको छ। विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शाहीलाई सम्मान गरिएको हो।

शनिबार कात्तिक ७ गते जीतपुरसिमरा उपमहानगरपालिका ४, औराहास्थित दुर्गा मन्दिर सभा हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री फरमुल्लाह मन्सुर र नगर सभापति रमेशप्रसाद पाण्डेले नवनिर्वाचित केन्द्रीय सदस्य मेधा शाहीसहित ममता शर्मालाई फूलमाला लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य मेधा शाहीले आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिन्। पार्टीले आफूलाई दिएको विश्वास, माया, स्नेह र जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवा तथा महिला नेतृत्वको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताइन्।

प्रमुख अतिथि फरमुल्लाह मन्सुरले गगनकुमार थापाको नेतृत्वमा सम्पन्न १५औँ महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै गुटगत राजनीतिलाई अन्त्य गरी नेपाली कांग्रेसलाई सबैको साझा पार्टी बनाउनुपर्ने धारणा राखे।

त्यस्तै, केन्द्रीय सदस्य ममता शर्माले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाइन्। नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लोकेश सिंहले आगामी स्थानीय तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक तयारीमा जुट्न आग्रह गरे।

कार्यक्रममा वडा सभापति यमुना उपाध्याय, वडा अध्यक्ष चतुरबाबु वाग्ले, प्रदेश सभापति छविलाल शर्मा, विजय गुप्ता, पूर्वकेन्द्रीय सदस्य मधु शाही, पूर्वआमन्त्रित केन्द्रीय सदस्य नारायण रायमाझी, पूर्वमधेश प्रदेश सदस्य शोभा लामा, महाधिवेशन प्रतिनिधि माधवप्रसाद उपाध्याय र हरिप्रसाद थपलियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता नगर सभापति रमेशप्रसाद पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य नगर उपसभापति उदय श्रेष्ठले राखेका थिए। कार्यक्रम सञ्चालन सुशील ढोडारीले गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर