३ असोज, बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकैबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २० वर्षीय दिपु राउत कुर्मी रहेका छन्।



सडकको बायाँतर्फ रहेको सर्भिस लेनमा इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले गस्ती तथा जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका कुर्मीलाई रोकेर तलासी लिएको थियो। सो क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको पोकामा प्याक गरिएको करिब एक ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका कुर्मीलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय जीतपुरको हिरासतमा राखिएको छ।
घटनामा संलग्न लागूऔषधको मुख्य स्रोत, खरिद-बिक्रीको सञ्जाल तथा अन्य सम्भावित कारोबारकर्ताहरूबारे पनि गहन अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।









