३असोज, बारा। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका वडा तहको अधिवेशन असोज ३ र ४ गतेदेखि सुरु हुने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सोही कार्यतालिकालाई कार्यान्वयन गर्न पार्टीले मातहतका सबै निकायलाई निर्देशन दिएको छ।
निर्वाचन कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले देशभरका ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटाइएको जनाएको छ। जिल्ला निर्वाचन अधिकृतहरूले सम्बन्धित क्षेत्रका पार्टी पदाधिकारीहरूसँग आवश्यक छलफल गरी प्रत्येक वडामा मतदान अधिकृतहरू खटाउनेलगायतका सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरिसकेका छन्।



वडा अधिवेशनका विषयमा हुन सक्ने विभिन्न भ्रामक सूचना तथा अफवाहमा विश्वास नगर्न निर्वाचन समितिले विशेष अपिल गरेको छ। पार्टीका सबै क्रियाशील सदस्य, जिम्मेवार पदाधिकारी तथा आम शुभेच्छुकहरूलाई निर्धारित मितिमा हुने निर्वाचन प्रक्रियामा उत्साहजनक र सक्रिय रूपमा सहभागी हुन अनुरोध गरिएको छ।
पार्टीभित्रका केही आन्तरिक मतान्तर र अदालतमा विचाराधीन मुद्दाका बिच पनि केन्द्रीय नेतृत्व तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न प्रतिबद्ध देखिएको छ। संवाद र आन्तरिक सहमतिका माध्यमबाट सबै पक्षलाई समेट्दै महाधिवेशनलाई लोकतान्त्रिक र मर्यादित ढङ्गले सम्पन्न गर्ने प्रयास भइरहेको छ।









