१५ कात्तिक, बारा । बाराको फेटा गाउँपालिका–३ मा अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवाद र झडपको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय टोली गठन गरेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई घटनास्थलको स्थलगत छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।



घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्।
लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई इलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखका रूपमा खटाइएको एसपी कुँवरले बताए।
फेटा गाउँपालिका–३ मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अधुरै अवस्थामा उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। सो क्रममा प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।
झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका थिए। उनको तिघ्रामा गोली लागेको थियो।
घाइते पासवानलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। अस्पतालमा शल्यक्रिया गरी उनको तिघ्राबाट गोली निकालिएको जनाइएको छ।
घटनापछि आक्रोशित स्थानीयले अस्पतालमा ढुंगामुढा तथा तोडफोड गर्नुका साथै करिब नौ वटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।
घटनाको छानबिनका लागि टोली गठन र प्रहरी निरीक्षकलाई जिम्मेवारीमुक्त गरिएसँगै फेटा घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।









