२ कार्तिक, बारा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका रोजगार संयोजक ओमप्रकाश गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पद लिएको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरीले २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृतसरह) को प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए। सोही पद प्राप्ति, लाभ र ओहदाका लागि उनले झुट्टा विवरण बुझाएको अख्तियारको ठहर छ।

उनको प्रमाणपत्र तह र स्नातक तहका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानको क्रममा उनले पेस गरेको ३ वर्षे बी.एड. तहको मार्कसिट (लब्धाङ्कपत्र) त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा उक्त प्रमाणपत्र उनको नभई अन्य व्यक्तिको रहेको पुष्टि भएको थियो।

आयोगले गिरीको यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर मानेको छ। सोही ऐनअनुसार उनलाई कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर