३ मंसिर, बारा। मकवानपुरको भीमफेदीमा आज बिहान टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आज मंसिर ३ गते बिहान करिब ८:३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त सुमोमा चालकसहित जम्मा १० जना सवार रहेका थिए। दुर्घटनामा परी तीन जनाको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभएको छ। यद्यपि, केही सञ्चारमाध्यमहरूले प्रारम्भिक चरणमा दुई जनाको मृत्यु भएको विवरण समेत सार्वजनिक गरेका छन्।

दुर्घटनालगत्तै घटनास्थलमा खटिएका सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइते तथा मृतकहरूको उद्धार गरिएको थियो। उद्धार गरिएका सातै जना घाइतेलाई उपचारका लागि तथा मृतकहरूको शव व्यवस्थापनका लागि हेटौँडा अस्पताल ल्याइएको प्रशासनले जनाएको छ।

दुर्घटनाको ठोस कारण खुल्न सकेको छैन भने मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर