२३ भदौ,काठमाडौँ। गत वर्ष सामाजिक रुपान्तरण, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै युवा पुस्ता (Gen-Z) ले गरेको ऐतिहासिक आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज (भदौ २३ गते) देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले यस दिनलाई आधिकारिक रूपमा ‘जेन-जी सहिद दिवस’ को रूपमा घोषणा गर्दै आन्दोलनका क्रममा शाहदाता प्राप्त गरेका ४५ जना युवाहरूको सम्मान, सम्झना र समर्पणमा देशभर बिदा दिने निर्णय गरेको हो।
गत वर्ष भदौ २३ र २४ गते सामाजिक सञ्जाल माथि लगाइएको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, बेरोजगारी र राजनीतिक विकृतिविरुद्ध देशभरका हजारौँ युवाहरू स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। देशका प्रमुख शहरहरूमा युवाहरूले गरेको उक्त विशाल प्रदर्शनले मुलुकको राजनीतिक र सामाजिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलनका क्रममा आफ्ना अधिकारका लागि लड्दै ज्यान गुमाएका युवाहरूको बलिदानलाई कदर गर्दै सरकारले उनीहरूलाई सहिद घोषणा गर्नुका साथै उनीहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था समेत गरिसकेको छ।



आज ‘जेन-जी सहिद दिवस’का अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछन्। राजधानी काठमाडौँ लगायत देशका विभिन्न प्रमुख शहरहरूमा सहिदहरूको प्रतिमामा माल्यार्पण, दीप प्रज्वलन, श्रद्धाञ्जली सभा र आन्दोलनको समीक्षात्मक छलफल जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। युवा नेतृत्व र नागरिक समाजका प्रतिनिधिहरूले आजको दिनलाई केवल बिदाको रूपमा मात्र नभई परिवर्तनको सङ्कल्प दोहोर्याउने र सुशासन कायम राख्ने दिनका रूपमा मनाउन आह्वान गरेका छन्।









