३० कार्तिक, बारा। सूर्य उपासना र निष्ठाको महापर्व छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरी हर्षोल्लासका साथ सम्पन्न भएको छ।
कात्तिक शुक्ल पक्ष चौथीदेखि सप्तमीसम्म चार दिन विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य (सझियाघाट) र चौथो दिन (आज सप्तमीका दिन) बिहान उदाउँदो सूर्यलाई अर्घ्य (भोरका अरख) दिइने परम्परा रहेको छ।



यस वर्ष सरकारले छठ पर्वको अवसरमा षष्ठी र सप्तमी दुवै दिन सार्वजनिक बिदा दिएको छ, जसले गर्दा ब्रतालु तथा आम नागरिकलाई पर्व मनाउन थप सहजता र उल्लास छाएको छ। नदी, पोखरी तथा जलाशयका किनारहरूमा सरसफाइ गरी बनाइएका झकिझकाउ र आकर्षक घाटहरूमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।
सूर्य देवता र छठी माताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस्—छठ पर्वको समापनको यस सुअवसरमा हार्दिक मङ्गलमय शुभकामना!









