२९ कार्तिक, बारा। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो महानपर्व शुक्रबारदेखि शुरु भएको हो ।



दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ ।
षष्ठी अर्थात आजको दिन रातभर जागा बसी भोलि कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । केही वर्षअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।
विसं २०४६ देखि सरकारले छठ पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । विगतका केही वर्ष यो बिदा काटिएकामा फेरि बिदा हुन थालेको छ । यसवर्ष सरकारले भोलि पनि सार्वजनिक बिदा दिएको छ ।
छठ पर्वका अवसरमा तराई, मधेशसँगै काठमाण्डौ उपत्यका र अरु ठाउँका नदी, पोखरी तथा जलाशयहरु तयार पारिएको छ ।









