२२ कार्तिक, बारा। तिहारको तेस्रो दिन आज घरघरमा श्रद्धा र उत्साहका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्न गएको हो। बिहान मानिसको निष्ठावान् मित्र कुकुरको पूजा गरिएपछि साँझ घरआँगन झिलीमिली बनाएर ‘सुखरात्रि’ का रूपमा चिनिने कात्तिक कृष्ण औँसीको रातमा माता लक्ष्मीको स्वागत गरिँदैछ।
लक्ष्मी पूजाका लागि बिहानैदेखि घरका झ्याल, ढोका, कोठा र कौसी सफा गरी फूलमालाले सजाइने परम्परा रहेको छ। साँझ आँगनदेखि पूजा कोठासम्म रातोमाटो र गाईको गोबरले लिपपोत गरी लक्ष्मीको पाइला बनाइन्छ। दिनभर उपवास बसेका श्रद्धालुहरूले सूर्यास्तपछि दीप, कलश, गणेश र लक्ष्मीको स्थापना गरी गरगहना, पैसा, धान, चामल र सेलरोटी चढाई विधिपूर्वक पूजा-आरती सम्पन्न गर्दछन्। आज लक्ष्मीपूजाका लागि साँझ ६ बजेर ५२ मिनेटसम्मको समय शुभबेला मानिएको छ।



पूजा सम्पन्न भएपछि परिवारका सदस्यहरूले प्रसाद ग्रहण गर्नेछन् भने राति घर-घरमा पुगेर भैलो खेल्ने र रमाइलो गर्ने परम्परा सुरु हुनेछ। तिहारको रौनकसँगै समाजमा एकापसमा खुसी, भाइचारा र परम्परागत लोकसंस्कृतिको आदानप्रदान हुने गर्छ। झिलीमिली दियो र रङ्गोलीका रङहरूले रातलाई उज्यालो र उत्सवमय बनाउँछन्।
यमपञ्चकका बाँकी दिनहरूमा भोलि गाईपूजा र पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ, जससँगै नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि आरम्भ हुनेछ। तिहारको अन्तिम दिन २५ गते बुधबार दिदीबहिनी र दाजुभाइको पवित्र प्रेमको प्रतीक यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। भाइटीकाका लागि समितिले बिहान ११ बजेर ७ मिनेटको उत्तम साइत निर्धारण गरेको छ।









