२७ कार्तिक, बारा। सूर्य उपासना र लोकआस्थाको महान् पर्व छठ आज नहाय खाए मनाउँदै विधिवत् रूपमा सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट सुरु भई हाल देशभर क्षेत्रका गाउँबस्ती र बजारहरू पूर्ण रूपमा छठमय बनेका छन्।
बिहानै नदी, तलाउ वा जलाशयमा स्नान गरी घरआँगन र भान्छाको सरसफाइ गरेपछि व्रतालुहरूले चोखो मनले व्रतको संकल्प लिन्छन्। नहाय-खायको दिन विशेषगरी बिना लसुन-प्याज र सिधे नुनको प्रयोग गरी तयार पारिएको लौका (कद्दु) को तरकारी, चनाको दाल र अरवा चामलको भात प्रसादका रूपमा खाने चलन छ।



छठको तयारीस्वरूप देशभरका घरघरमा छठी माताका भक्तिगीतहरू गुञ्जिरहेका छन् भने स्थानीय बासिन्दा तथा युवाहरू नदीकिनार, पोखरी र जलाशय सरसफाइ तथा छठघाट निर्माण एवं सजावटमा सक्रिय रूपमा जुटेका छन्। पर्वमा आवश्यक पर्ने केराका घारी, बाँसका सामग्री (सुप, डाली), माटाका नयाँ भाँडाकुँडा र पूजासामग्री खरिद गर्न बजारमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ।
शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा घरघरमा ठेकुवा, भुसुवा लगायतका प्रसाद तयार पार्न गृहिणीहरू व्यस्त छन् भने चामल र गहुँको पिठो तयार गर्न ढिकी तथा जाँतोको प्रयोग गर्ने परम्परा समेत जीवितै छ। पुराना मनमुटाव र भेदभाद बिर्सेर सबै एकै ठाउँमा भेला भई मनाइने छठ पर्वले समाजमा आपसी सद्भाव, मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ।









