९ मंसिर, बारा। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन शाखा, महाराजगञ्ज (काठमाडौं) मा कार्यरत प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन्।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको निर्णयअनुसार देशभरका ६० जना प्रहरी उपरीक्षकहरूको सरुवा तथा काज गरिएको हो। सोही क्रममा बाराका एसपी कुँवरलाई कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर (सुर्खेत) मा सरुवा गरिएको छ।



प्रधान कार्यालयको पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले मंसिर महिनादेखिकै तलब, भत्ता लगायतका सुविधा नयाँ दरबन्दीबाट पाउनेछन्। बाराको कमाण्ड सम्हाल्न आउन लागेका एसपी थापा यसअघि छिमेकी जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए।









