६ मंसिर, बारा। पर्सा र बाराका चार स्थानीय तहलाई जोडेर यही मङ्सिरभित्रै अन्तरपालिका नगर बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। वीरगन्ज महानगरपालिकासहित जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाले ग्रामीण बस्ती तथा सहायक सडकलाई मुख्य सडक सञ्जालसँग जोड्दै सार्वजनिक यातायात सहज र सुलभ बनाउने उद्देश्यले संयुक्त रूपमा नगर बस सञ्चालन गर्न लागेका हुन्।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले मङ्सिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गरिने भएको छ। कोषमा वीरगन्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ योगदान गर्ने सहमति भएको छ।



यसअघि गत कात्तिक १२ गतेको बैठकबाट सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको छ। महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमराका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैयाका अजय उप्रेती र परवानीपुरका कृष्णकुमार यादव सदस्य छन्। सोही कार्यदललाई मङ्सिर ७ गतेभित्र नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी पेस गर्ने जिम्मेवारी दिइएको छ।
नगर बस सेवा सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दालाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न निकै सहज हुने अपेक्षा गरिएको छ। यसबाट निजी सवारीसाधनमा निर्भर हुनुपर्ने तथा एउटै गन्तव्यमा पुग्न पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने स्थानीयको बाध्यता हट्ने विश्वास लिइएको छ।









