४ मंसिर, बारा।कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व आज देशभर तुलसीको विवाह तथा भगवान् विष्णुको विशेष पूजाआराधना गरी मनाइँदैछ। आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु चार महिनापछि आजै ब्युँझने धार्मिक विश्वास रहेकाले यस दिनलाई ‘ठूलो एकादशी’ वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
परम्पराअनुसार आज घरआँगनको तुलसी मठलाई लिपपोत गरी बाँस वा निगालाको लिङ्गो र उँखु गाडेर सिंगारिन्छ र विष्णुसँग तुलसीको विवाह गराइन्छ। व्रतालुहरूले आज सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने प्रचलन छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म साइत नहेराई तुलसीको हवन गरी चारमहिने व्रत समापन गर्न सकिने मान्यता छ।



एकादशीको अवसरमा काठमाडौंको बूढानीलकण्ठ नारायणस्थान, उपत्यकाका चार नारायण (चाँगुनारायण, शेषनारायण, इचंगुनारायण र विशंखुनारायण) सहित देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चार नारायण जान नसक्नेले बूढानीलकण्ठको दर्शन गरे बराबरको फल मिल्ने विश्वास छ भने यहाँ आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला समेत लाग्दछ।









