साजिर मन्सूर
बारा,मङ्सिर ७
कलैया उपमहानगरपालिकाले नगरवासीलाई स्थानीय स्तरबाटै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित भूमि प्रशासन सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ। सेवा सञ्चालनका लागि आवश्यक तयारी तथा व्यवस्थापनका विषयमा नगर प्रमुख विनोद साहको नेतृत्वमा छलफल तीव्र पारिएको हो।
भूमि प्रशासन कार्यालय, कलैयाबाट स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोधसहित पत्राचार भएपछि कलैया उपमहानगरपालिकाले यस विषयमा आवश्यक प्रक्रिया अगाडि बढाएको प्रमुख प्रशासकिय अधिकृत रेशम लाल कडेलले जनाएका छन।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार स्थानीय तहबाटै भूमि प्रशासन सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित कार्यालयले आग्रह गरेको पत्रमा पाए पश्चात् सोही अनुरुप आजैदेखि हामी सेवा दिन आवस्यक पुर्वाधार लगायतका बिषयमा गम्भीर भएका छौ कडेलले भने । पत्रमा सेवा सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न भूमि प्रशासन कार्यालयका कर्मचारीलाई फोकल पर्सनसमेत तोकिएको जनाइएको छ।
कलैया उपमहानगरपालिकामा आयोजित छलफलमा नगर प्रमुख विनोद साहसहित जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलमा भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, पूर्वाधार, प्राविधिक व्यवस्थापन, कार्यालय सञ्चालन तथा सम्बन्धित निकायसँगको समन्वयलगायतका विषयमा विचारविमर्श भइरहेको छ।
यो सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामका लागि सदरमुकामस्थित भूमि प्रशासन कार्यालय बाटै कलैया उपमहानगरपालिका भित्रका जनताले सेवा पाउने सहज ब्यवस्थापन मिलाईरहेको नगर प्रमुख साहले बताए । स्थानीय स्तरबाटै सेवा प्राप्त गर्न सकिने हुँदा सेवाग्राहीको समय, खर्च र झन्झटसमेत घट्ने विश्वास गरिएको छ।
कलैया उपमहानगरपालिकाले यथाशीघ्र आवश्यक प्रक्रिया, पूर्वाधार तथा समन्वय पूरा गरी सेवा सञ्चालनमा ल्याउन सके नगरवासीका लागि यो महत्वपूर्ण उपलब्धि बन्न सक्ने नेपाल लेखापढी कानुन ब्यवसायी संघ जिल्ला समन्वय समिती बाराका अध्यक्ष पनालाल कुश्वाहाले भने । यसले स्थानीय सरकारबाट नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने अभियानलाई समेत थप बल पुर्याउने अपेक्षा गरिएको लेखापढी कै कलैया अध्यक्ष बृजकिशोर यादवले थपे । कलैया उपमहानगरपालिकाका प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत सहित का संबंधित शाखाका प्रमुख हरुले सेवा सन्चालन गराउन देखाएको तदारुकताका लागि यादवले प्रसंशा सङ्गै धन्यवाद ब्यक्त गरेका छन ।












