८ मंसिर, बारा। बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा मंगलबार बिहान आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार बिहान करिब ३:१८ बजे स्थानीय रतन महराको माटो र खरले बनेको घरबाट सुरु भएको आगो फैलिँदै जाँदा धुरेन्द्र महराको घरसमेत जलेर नष्ट भएको हो। आगलागीबाट रतन महराको घरमा रहेका दुई चौपाया जलेर मृत्यु भएका छन् भने लत्ताकपडा तथा घरभित्रका अन्य सरसामान पनि खरानी भएका छन्।

घटनाका समयमा दुवै घरधनी घरबाहिर रहेको बुझिएको छ। स्थानीय सञ्चारकर्मी राजु चौरसियाका अनुसार रतन महरा र धुरेन्द्र महरा तीर्थाटनका लागि घरबाहिर गएका थिए। घरधनीहरू अनुपस्थित रहेको अवस्थामा लागेको आगोबाट घरभित्र सुतिरहेका छोराछोरी भने समयमै भागेर ज्यान बचाउन सफल भएका छन्।

आगो नियन्त्रणमा लिन स्थानीय प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दा सक्रिय रूपमा खटिएका थिए। कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाका दमकल तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि बस्तीमा थप ठूलो क्षति हुनबाट जोगिएको छ।

प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। घटना कसरी भयो भन्ने कारण र कुल आर्थिक क्षतिको यकिन विवरण संकलन तथा अनुसन्धान भइरहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर