साजिर मन्सूर
बारा,मङ्सिर ११
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शोभाकर पराजुलीले लोकतन्त्र, संविधान र सुशासनको रक्षाका लागि नेपाली कांग्रेसले सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आफ्नो धारणा राख्दै डा. पराजुलीले देश गम्भीर मोडमा पुगेको उल्लेख गर्दै पार्टीले फुटकर कार्यक्रम र प्रतिक्रियात्मक गतिविधिमा मात्र सीमित नभई राष्ट्रिय दायित्व निर्वाह हुने गरी अघि बढ्नुपर्ने बताएका हुन्।



उनले वर्तमान सरकार र संसद दुवै लोकतन्त्रको असल अभ्यासमा चुकेको टिप्पणी गर्दै सरकार, संसद तथा राज्यका अन्य संरचनालाई लोकतान्त्रिक विधि र पद्धतिअनुसार सञ्चालन गराउन कांग्रेसले दबाब, गम्भीर बहस र आवश्यक परे कठोर निर्णयसमेत लिनुपर्ने धारणा राखे।
लोकतन्त्रको संस्थागत विकासका लागि शक्ति सन्तुलनको सिद्धान्त, संसदको भूमिका, सरकारको कार्यशैली, अदालतको विश्वसनीयता तथा संवैधानिक अंगहरूमा सत्ता र शक्तिको प्रभावबारे कांग्रेसले निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
डा. पराजुलीले कांग्रेसले तत्काल छायाँ सरकारको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य र मान्यताबारे शिक्षित बनाउने तथा जेनजी आन्दोलनपछिको जनमनोभावलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने आवश्यकता औँल्याए।
त्यसैगरी, वर्तमान सरकारका नीति, निर्णय र कार्यशैली सुशासनमैत्री छन् कि छैनन् भन्ने विषयमा पार्टीले निरन्तर निगरानी गर्नुपर्ने बताउँदै राष्ट्रियता, कूटनीति र प्रधानमन्त्रीको भारत भ्रमणलाई समेत गम्भीर समीक्षाको विषय बनाउनुपर्ने धारणा व्यक्त गरे।
सरकारका पछिल्ला विवादित प्रकरणहरूबारे टिप्पणी गर्दै उनले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णय, प्रधानमन्त्री कार्यालयमा कर्मचारीमाथि गरिएको धरपकड, ई–पासपोर्ट छपाइ ठेक्कामा भएको भनिएको हस्तक्षेप, योग्यताभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्ति, प्रहरी संगठनमा हस्तक्षेप तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासजस्ता विषयलाई संविधान, कानुन र विधिको शासनको कसीमा राखेर हेर्नुपर्ने बताए।
उनले अनुभवहीन सरकारका कारण घरेलु राजनीतिक शक्तिहरूबीच संवाद र न्यूनतम सहमतिको वातावरण कमजोर बनेको टिप्पणी गर्दै यस्तो अवस्थाले छिमेकी मुलुकहरूको रणनीतिमा समेत प्रभाव पार्न सक्ने बताए। संवेदनशील राष्ट्रिय परिस्थितिमा कांग्रेसले जिम्मेवार, परिपक्व र संवादमुखी भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै डा. पराजुलीले जलवायु न्याय, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय स्वीकार्यता स्थापित गर्न नेपालको कूटनीतिक अभ्यासलाई समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय गरिमा र कूटनीतिक स्वाभिमान बढाउन नसकेको टिप्पणी गर्दै उनले भ्रमणले नेपालको राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक मर्यादाबारे गम्भीर प्रश्न उठाएको बताए।
उनका अनुसार आजको चुनौतीपूर्ण अवस्थामा नेपाली कांग्रेसले केवल सरकारका गतिविधिप्रति प्रतिक्रिया जनाएर मात्र पुग्दैन। संविधानको रक्षक, लोकतन्त्रको संवाहक र सुशासनको पहरेदारका रूपमा उभिएर सरकार, संसद र राज्यका सबै अंगलाई लोकतान्त्रिक विधि र पद्धतिमा सञ्चालन गराउन पार्टीले निर्णायक भूमिका निर्वाह गर्न आवश्यक छ।









