११ मंसिर,काठमाडौं । इनम सापकोटाले आफूलाई धम्की दिएर विभिन्न उच्चपदस्थ तथा सार्वजनिक व्यक्तित्वहरूविरुद्ध बयान दिन बाध्य पारिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्। इनमका तर्फबाट उनकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगमा चार पृष्ठ लामो निवेदन दर्ता गराउँदै हिरासतमा रहँदा मानसिक यातना दिइएको र झुटा प्रमाण सिर्जना गर्न खोजिएको आरोप लगाएकी हुन्।
निवेदनमा असोज १४ गते विमानस्थलबाट आँखामा कालोपट्टी बाँधी अज्ञात स्थलमा लगेर १५ गते साँझसम्म सोधपुछ गरिएको उल्लेख छ। सो क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता एवं व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिए छाडिदिने भनिएको निवेदनमा दाबी गरिएको छ। त्यसो नगरे झुटा मुद्दा लगाएर लामो समय जेल हाल्ने र परिवारको जिउज्यानमै खतरा पुर्याउने धम्की दिइएको सापकोटाले उल्लेख गरेका छन्।



त्यस्तै, असोज १६ गते प्रहरी भ्यानमा राखेर पानीपोखरीस्थित अपार्टमेन्टमा लगि खानतलासी गर्दा कोठामा पुरानो ल्यापटप, पुरानो फोन र केही कागजात मात्र भेटिएको निवेदनमा जनाइएको छ । तर, प्रहरीले घरअगाडि राखिएको सुटकेसको साइड ब्यागबाट केही विदेशी मुद्रा निकाली त्यसलाई कोठाभित्रै फेला परेको भन्दै मुचुल्का तयार पारेको आरोप लगाइएको छ ।
निवेदनमा तीमध्ये कतिपय व्यक्तिसँग आफ्नो राम्रो सम्बन्ध रहेको र कतिपयलाई चिन्दै नचिनेको उल्लेख गर्दै सापकोटाले आफू र परिवारको जिउज्यानको रक्षा तथा मौलिक हकको संरक्षण गरिदिन माग गरेका छन्। यता, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीले निवेदन दर्ता भएको पुष्टि गर्दै आयोगले यस विषयमा छानबिन तथा सम्बन्धित निकायसँग सोधपुछ अघि बढाउने जानकारी दिएका छन्।









