१० मंसिर, बारा। जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा बुधबार बाराको सदरमुकाम कलैयास्थित भरत चौकमा दिप प्रज्वलन गरी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ। ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ मूल नाराका साथ सुरु भएको यो अभियान मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ। सेवा केन्द्रकी प्रहरी निरीक्षक निरुता सिवाकोटीको नेतृत्वमा सम्पन्न कार्यक्रममा महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।
अभियानका क्रममा प्रहरी निरीक्षक निरुता सिवाकोटीले बालबालिकालाई हिंसा तथा दुर्व्यवहारबाट बच्न अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिनुभयो। उहाँले अनावश्यक वा मन नपर्ने छुवाइको खुलेर विरोध गर्न, जबर्जस्ती गर्न खोजे भाग्न वा चिच्याएर सहयोग माग्न र दुर्व्यवहार भए लुकाएर नराखी अभिभावक वा विश्वासिलो व्यक्तिलाई भन्न सुझाव दिनुभयो। साथै साँझ एक्लै बाहिर नहिँड्न, अपरिचितले दिएका खानेकुरा नखान, दैनिक गतिविधिबारे जानकारी दिन र समस्या परे प्रहरीको निःशुल्क नम्बर १०० वा १०४ मा सम्पर्क गर्न आग्रह गर्नुभयो।



कार्यक्रममा बालबालिकाको सुरक्षामा अभिभावकको भूमिकाबारे समेत विशेष जोड दिइएको थियो। अभिभावकलाई राम्रो र नराम्रो छुवाइबारे स्पष्ट सिकाउन, अस्वीकार गर्न तथा ‘नाइँ’ भन्न प्रोत्साहन गर्न, नकारात्मक गतिविधिबाट टाढा राख्न र शारीरिक तथा मानसिक दण्ड नदिन सुझाव दिइयो। बालबालिकासँग पर्याप्त समय बिताउने, उमेरअनुसार व्यवहार गर्ने, साथीभाइ र सामाजिक सञ्जालका गतिविधिमा नियमित निगरानी राख्ने तथा व्यवहारमा असामान्य परिवर्तन देखिएमा सहयोग गर्न आग्रह गरिएको छ।
उक्त दिप प्रज्वलन कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल हिंसा प्रतिकार्य समूहकी अध्यक्ष निभा सिंह, महिला अधिकारकर्मी बबिता जयसवाल, हिरामती कुशवाहा, किस्मती राम, नेपाली कांग्रेसका लोकेश सिंह, लक्ष्मी खरेललगायत विभिन्न संघसंस्थाका पदाधिकारी र नेपाल प्रहरीको उपस्थिति रहेको थियो। अभियान अवधिभर समुदायस्तरमा जनचेतनामूलक गतिविधिमार्फत लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितलाई न्याय दिलाउने विषयमा जोड दिइने जनाइएको छ।









