बिश्वास सम्बाददाता
कलैया, ९ मंसिर
बारा जिल्लाको कलैया उपमहानगरपालिकामा भूमि प्रशासन शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुरूप स्थापना गरिएको उक्त शाखाको बिहिबारदेखि सेवा सञ्चालनमा आउने भएको छ।
कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह र उपप्रमुख रौशन प्रविनले संयुक्त रूपमा एक कार्यक्रमबीच भूमि प्रशासन शाखाको उद्घाटन गरेका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागले भूमि प्रशासनसम्बन्धी सेवाहरूलाई स्थानीय तहसम्म विस्तार तथा विकेन्द्रीकरण गर्ने नीति लिएसँगै कलैया उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक भूमि प्रशासन शाखा सञ्चालनमा ल्याएको हो। यस शाखाको सञ्चालनसँगै मालपोत तथा नापीसम्बन्धी सामान्य कामका लागि सदरमुकाम वा सम्बन्धित कार्यालय धाउनुपर्ने नागरिकको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विनोद साहले भूमि प्रशासन शाखाबाट प्रदान गरिने सेवा पारदर्शी, छिटोछरितो, सहज र नागरिकमैत्री हुनुपर्नेमा जोड दिए। उनले सेवाग्राहीलाई अनावश्यक झन्झटमा नपार्न तथा कुनै पनि बहानामा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिँदै शाखाबाट प्रदान गरिने सेवामा भ्रष्टाचार र अनियमितता हुन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरे।
नगर प्रमुख साहले नागरिकले आफ्नो कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्दै सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले सरकारी सेवा प्रवाहमा जनताको विश्वास कायम राख्न कर्मचारीको जिम्मेवारी र जवाफदेहिता महत्वपूर्ण हुने उल्लेख गर्दै सेवाग्राहीको कामलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिए।
स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै कार्यक्रममा सहभागी वक्ताहरूले यसबाट सेवाग्राहीको समय, खर्च र श्रम बचत हुने विश्वास व्यक्त गरेका थिए। विशेषगरी जग्गासम्बन्धी प्रशासनिक कामका लागि टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय स्तरमै सेवा प्राप्त गर्न सकिने भएकाले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, भूमि प्रशासन कार्यालय बाराका प्रमुख शालिकराम ढकाल, नेपाल लेखापढी व्यवसायी संघ बारा जिल्ला समन्वय समितिका अध्यक्ष पन्नालाल कुश्वाहा, कलैया उपमहानगरपालिका एकाइ अध्यक्ष बृजकिशोर यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानलगायत विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भूमि प्रशासन शाखा सञ्चालनमा आएपछि कलैया उपमहानगरपालिकाका सेवाग्राहीले स्थानीय तहमै भूमि प्रशासनसम्बन्धी सेवा प्राप्त गर्ने अवसर पाउनेछन्। यसले सार्वजनिक सेवा प्रवाहलाई थप विकेन्द्रित, व्यवस्थित र प्रभावकारी बनाउनुका साथै सरकारी कार्यालयप्रतिको नागरिकको पहुँच र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
शिक्षा शाखा प्रमुख राजिव यादवले कार्यक्रमको सन्चालन गरेका थिए ।












