साजिर मन्सूर
बारा, ९ मंसिर
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै बाराका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी आन्दोलनलाई समर्थन गर्दै बुधबार बाराका पत्रकारहरूले प्रशासन कार्यालयअगाडि भेला भई सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा आयोजित कार्यक्रममा पत्रकारहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘महासंघका माग तत्काल पूरा गर’ लगायतका नारा लगाउँदै सञ्चार क्षेत्रमाथिको नियन्त्रण र पत्रकारमाथि हुने आक्रमण तथा धरपकडको विरोध गरेका थिए।
महासंघले सञ्चारमाध्यमप्रति सरकारको व्यवहार, पत्रकारमाथि हुने दुर्व्यवहार, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई गम्भीर विषयका रूपमा उठाउँदै आन्दोलन अघि बढाएको जनाएको छ।
त्यस्तै, लोककल्याणकारी विज्ञापनको रकम कटौती, सञ्चारकर्मीको श्रम अधिकारमाथिको उल्लङ्घन र पत्रकारहरूको पेशागत सुरक्षाको सुनिश्चिततालाई समेत आन्दोलनका प्रमुख मुद्दा बनाइएको छ।
केन्द्रीय समितिको निर्देशनअनुसार देशभरका जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सञ्चालन गरिरहेका छन्।
बारामा आयोजित प्रदर्शनमा केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश कोषाध्यक्ष अनिल गौरव,प्रदेश सदस्य साजिर मन्सुर सहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर