११ मंसिर, बारा। बाराको कलैया उपमहानगरपालिका–१ मा सञ्चालित दुईवटा मिठाई कारखानामा संयुक्त बजार अनुगमन टोलीले छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएपछि सुदामा स्विट्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सुशील यादवको नेतृत्वमा खटिएको टोलीले सुदामा स्विट्सको कारखाना निरीक्षण गर्दा मिठाई खान अयोग्य पाइएको, ‘हाइड्रो’ प्रयोग गरिएको तथा सरसफाइमा लापरबाही गरिएको फेला पारेको थियो।



वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट ढाँटी, लुकाई, छिपाई वा झुक्याई बिक्री वितरण गरेको कसुरमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) तथा दफा ३९ (१) (ख) बमोजिम सुदामा स्विट्सलाई जरिवाना गरिएको टोलीले जनाएको छ। साथै, सञ्चालकलाई सम्पूर्ण कागजातसहित ७ दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
त्यसैगरी कलैया–१ स्थित सिद्धार्थ स्विट्सको कारखानामा गरिएको अनुगमनका क्रममा नापतौलका लागि प्रयोग हुने काँटाको अनुमति पत्र पेस गर्नुपर्ने देखिएकाले ३ दिनभित्र अनुमति पत्रसहित गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जमा उपस्थित हुन निर्देशन दिइएको नायब सुब्बा यादवले जानकारी दिनुभयो।









