नूर आलम बादशाह, फाल्गुन २१ गते आईतवार
बाराको सुवर्ण गाउँपालिकामा आयोजना गरिएको सुवर्ण क्रिकेट कपको उपाधि राज कुमार ११ मोतिहारीले जितेको छ । आइतवार भएको फाइनल खेलमा राजकुमार ११ मोतिहारीले केकेआर कलैयामाथि ३ विकेटको नतिजाका साथ सुवर्ण क्रिकेट कप प्रतियोगिताको उपाधि जितेको छ ।
सुवर्ण गाउँपालिकाको कवही गोठ क्रिकेट मैदानमा आइतवार भएको फाइनल खेलमा केकेआरले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य मोतिहारीले १७ औ ओभरमा सात विकेट गुमाउदै पूरा गरेको थियो । मोतिहारीका लागि अली अफरोज ब्लूटूथले अविजित ४४ रनको योगदान गरे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको केकेआर कलैयाले १७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रनमा सीमित बनेको थियो ।
प्रतियोगिताको विजेता मोतिहारीले सुपर स्प्लेंडर मोटरसाईकल, उपविजेता कलैयाले एलईडी टीवी प्राप्त गरे ।
मोतिहारीका छोटू सिहं प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी बने।
कार्यक्रमका प्रमुख अतिथि सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादव , उपाध्यक्ष पूनम कुमारी यादव, युवा नेता सतेन्द्र यादव, वडा अध्यक्षहरुले पुरस्कार, शिल्ड तथा मेडल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले पालिकामा सुवर्ण कपलाई स्थापित गरी खेलाडी उत्पादन गर्ने बताए । हामीले खेलकुदलाई प्राथमिकतामा राखेका छौं उनले भने क्रिकेट खेलको विकासका लागि सबै किसिमको प्रयत्न हुने छ ।
समापन कार्यक्रममा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरुलाई सम्मान गरिएको थियो भने प्रतियोगितामा सोरह वटा टिमको सहभागिता रहेको आयोजक टीमले जानकारी दिए ।







