२३ भदौ, वीरगन्ज। जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनअन्तर्गतको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार महाधिवेशनको आन्तरिक निर्वाचन प्रक्रिया भदौ महिनाको अन्तिम साताबाट सुरु भई आगामी असोज ११ गते अन्तिम परिणाम घोषणासँगै सम्पन्न हुनेछ।
पार्टीले तल्लो तहदेखि नै सांगठनिक विवरण अद्यावधिक गर्दै निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको छ। भदौ २१ गतेसम्म सम्पूर्ण वडा, पालिका, जिल्ला तथा केन्द्रीय र प्रदेश तहका निकायहरूको विवरण अद्यावधिक गरिनेछ भने भदौ २८ गते महाधिवेशन प्रतिनिधिहरूको विवरण अन्तिम रूपमा प्रविष्ट गरिनेछ। त्यसपछि भदौ २९ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरी दाबी-विरोधको प्रक्रिया पूरा गरेपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने तालिका छ।



औपचारिक निर्वाचन चरणअन्तर्गत २०८३ असोज १ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गरिनेछ। असोज २ गते उम्मेदवारको प्रारम्भिक नामावली, असोज ३ गते दाबी-विरोध र असोज ४ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ। असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि असोज १० गते शनिबार महाधिवेशन तथा मतदान हुनेछ। मतदान सम्पन्न भएलगत्तै असोज ११ गते मतगणना गरी परिणाम घोषणा गरिनेछ र सोही दिन केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। निर्वाचन प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन उम्मेदवारी दर्ता, दाबी-विरोध तथा कागजात पेस गर्नका लागि इमेल (janamatparty@gmail.com) को समेत डिजिटल व्यवस्था गरिएको पार्टीले जनाएको छ।









