२९ भदौ, बारा । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर हर्षोल्लास र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी सनातन धर्म मान्ने महिलाहरू बिहानै स्नान गरी रातो, हरियो र पहेंलो वस्त्रका साथ सोह्र श्रृंगारमा सजिएर मन्दिर तथा पूजास्थलहरूमा भगवान् शिव र पार्वतीको पूजा-आराधना गरिरहेका छन्।
धार्मिक मान्यता अनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउनका लागि निराहार व्रत बसेकी थिइन्। पार्वतीको कठोर तपस्याबाट प्रसन्न भई शिवजीले उनलाई पतिका रूपमा स्वीकार गरेको पौराणिक कथाका आधारमा यो पर्व मनाउने परम्परा चलेको हो। यसै विश्वासका साथ विवाहित नारीहरू पारिवारिक सुख, समृद्धि र पतिको दीर्घायुको कामना गर्दै तथा अविवाहित महिलाहरू सुयोग्य वरको आसमा दिनभर निराहार व्रत बस्ने गर्छन्।



तीजको व्रत र पूजाका लागि आवश्यक पर्ने सामग्रीहरू अघिल्लो दिन नै तयार पारिन्छ। पूजाका लागि बालुवा वा माटोबाट बनाइएको शिव-पार्वतीको मूर्ति वा लिङ्ग, दियो, कलश, गणेशको मूर्ति, तामाको थाली, तामाको लोहोटा र अक्षता आवश्यक पर्दछ। पूजा अर्पणका लागि विभिन्न फलफूल, मौसमी फूल, धुप, बत्ती, नैवेद्य (मिठाई), पञ्चामृत (दूध, दही, घिउ, मह, चिनी), तुलसीको पात, बेलपत्र, र समीको पात प्रयोग गरिन्छ। यसका अलावा पार्वती मातालाई चढाउन रातो कपडा, सिन्दूर, पोते, काँयो, तिलहरी, काँचको चुरा र धागो जस्ता सौभाग्यका सामग्रीहरू अनिवार्य मानिन्छन्।
यस पर्वको मनाउने विधि अनुसार तीजको अघिल्लो दिन (भाद्र शुक्ल द्वितीया) को राति मीठा-मीठा परिकारका साथ दर खाइन्छ। तीजका दिन बिहानै बर्तालुहरू स्नान गरी सोह्र श्रृंगार गरेर शुद्ध हुन्छन्। त्यसपछि घर वा नजिकैको शिव मन्दिरमा पुगी बालुवा वा माटोको शिव-पार्वतीको मूर्ति स्थापना गरी दीप, कलश, र गणेशको पूजा गरिन्छ। त्यसपछि शिव-पार्वतीलाई बेलपत्र, फूल, फलफूल तथा सौभाग्यका सामग्रीहरू अर्पण गरी तीजको कथा सुन्ने र आरती गर्ने गरिन्छ। दिनभर निराहार र जलसमेत नपिई व्रत बसी नाचगान गरेपछि, साँझ वा भोलिपल्ट बिहान पुनः पूजाआजा गरी व्रतको पारण गर्ने परम्परा छ।









