२९ भदौ, बारा। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेका छन्। मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार मुख्यमन्त्री यादव र कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव गएराति थाइ एयरमार्फत मनिला प्रस्थान गरेका हुन्। उनीहरू आगामी भदौ ३० र ३१ गते आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६’ मा सहभागी हुनेछन्।

यो भ्रमणबाट नेपाल सरकार तथा मधेश प्रदेश सरकारलाई कुनै पनि थप आर्थिक दायित्व नपर्ने बताइएको छ। बर्सेनि हुने बाढी, डुबान, बढ्दो सुख्खा, कृषि उत्पादनमा अस्थिरता र भूमिगत पानीको सङ्कटका कारण मधेश प्रदेश जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। यस्तो अवस्थामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेशका वास्तविक समस्या र लगानीका प्राथमिकता प्रस्तुत गर्नुलाई निकै महत्त्वपूर्ण मानिएको छ।

नेपाली कांग्रेसका नेता चन्द्रशेखर कुमार यादवका अनुसार यस भ्रमणले मधेशले भोगिरहेका प्राकृतिक विपद् र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रियस्तरमा अनुभव आदान-प्रदान गर्ने अवसर प्रदान गर्नेछ। विशेष गरी कृषि, खानेपानी, सिँचाइ तथा दिगो पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी जुटाएर मधेशलाई सुरक्षित तथा समृद्ध बनाउन यो मञ्च उपयोगी हुने अपेक्षा गरिएको छ।

जलवायु परिवर्तनलाई केवल विपद्का रूपमा मात्र नहेरी लगानी र पूर्वाधार विकाससँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ। तर, सम्मेलनबाट प्राप्त हुने ज्ञान, सहकार्य र अन्तर्राष्ट्रिय लगानीका सम्भावनाहरूलाई मधेश प्रदेशमा व्यवहारिक रूपमा कसरी कार्यान्वयन गर्ने भन्ने विषय भने प्रदेश सरकारका सामु मुख्य चुनौतीका रूपमा रहनेछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर