१८ कार्तिक, पर्सा।
पर्साको जगरनाथपुर गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय विगत साढे ९ वर्षदेखि वडा नम्बर ४ स्थित मदरसाको भवनमा सञ्चालन हुँदै आएकोमा अब आफ्नै नवनिर्मित प्रशासनिक भवनमा स्थानान्तरण गरिएको छ। बुधबार हिन्दु धार्मिक रीतिरिवाज अनुसार गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पूजापाठ गरेपश्चात् पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रमेश रिजालले नवनिर्मित दुई तले प्रशासनिक भवनको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटनसँगै कार्यालयका दैनिक कामकाजहरू नयाँ भवनबाटै सुचारु गरिएको छ।
वडा नम्बर ४ जगरनाथपुरमा २ करोड ३५ लाख रुपैयाँको लागतमा यो सुविधासम्पन्न प्रशासनिक कार्यालय निर्माण गरिएको हो। यसमा मधेस प्रदेश सरकारको ६५ लाख, जिल्ला समन्वय समितिको ३५ लाख र गाउँपालिका कार्यालयको १ करोड ३५ लाख रुपैयाँ लगानी रहेको छ। गाउँपालिका अध्यक्ष यादवका अनुसार हाल भुइँ तलाको निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ भने माथिल्लो तलाको बाँकी काम आगामी मंसिरमा सक्नेगरी निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।



लामो समयसम्म मदरसाको भवनबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा विभिन्न समस्या भए पनि अब आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु भएकाले प्रशासनिक गतिविधिक र सेवाग्राहीलाई सेवा लिन धेरै सहज हुने अध्यक्ष यादवले विश्वास व्यक्त गर्नुभएको छ। नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकहरूमा खुसीयाली छाएको छ।
उद्घाटन समारोहमा प्रदेश सरकारका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी र जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।













