
कलैया,कार्तिक १८
चेक अनादर (बैंकिङ कसुर) मुद्दामा अदालतको आदेशअनुसार बारा प्रहरीले प्रसौनी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पक्राउ गरेको छ।



बारा जिल्ला अदालत, तहसिल शाखाले चेक अनादर मुद्दामा प्रतिवादी रहेका कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी बृजकिशोर कुशवाहालाई पक्राउ गरी अदालतमा दाखिला गराउन जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार भए बमोजिम पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जनाए ।
अदालतको पत्रअनुसार कुशवाहालाई पक्राउ गरी वादीको बिगो दाखिला गराउने प्रयोजनका लागि अदालतमा उपस्थित गराउन अनुरोध गरिएको थियो।
अदालतको पत्रमा उल्लेख भएअनुसार उक्त मुद्दामा वादीतर्फ कलैया–२३ निवासी चन्द्रिका राउतका छोरा तथा जगदम्बा ट्रेड कन्सर्नका प्रोप्राइटर अनिलकुमार पटेल रहेका छन्।
अदालतको मिति २०८३/०७/१३ को आदेशअनुसार पक्राउसम्बन्धी प्रक्रिया अघि बढाइएको पत्रमा उल्लेख छ।









