बारा,पौष २९
परवानीपुर गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशन आज गाउँपालिकाको सभा हलमा औपचारिक रूपमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले गरेका छन ।सो अवसरमा उपाध्यक्ष सुगान्धी देवी कनुइन तथा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले संयुक्त रूपमा दिप प्रज्वलन गरी गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै गापा अध्यक्ष छेत्रीले गाउँपालिकाको समग्र विकास, सुशासन, पारदर्शिता तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै स्थानीय तहको विकासमा करदाताहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सबै करदाताप्रति धन्यवाद ज्ञापन गरे।
यसै अवसरमा १७ औँ गाउँसभा अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ मा ठूला करदाता मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताहरूलाई सम्मान गरेको छ। पहिलो स्थानमा परवानीपुर गाउँपालिका वडा नं. ४, चैनपुरस्थित ओसिवी फुड्स एण्ड फिड्स प्रा.लि. का प्रोप्राइटर सुरेश रुङटालाई प्रमाणपत्र सहित सम्मान गरेको छ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने जय श्री हेल्थ केयर प्रा.लि. परवानीपुर गाउँपालिका वडा नं. ४, चैनपुरका प्रतिनिधि रामदरश पण्डितलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा कार्यालयको रूपमा परवानीपुर गाउँपालिका वडा नं. ५, बहुअरी लाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।
गाउँसभामा आगामी नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल हुने र विकास निर्माण, सामाजिक सेवा तथा आर्थिक सुदृढीकरणका विषयहरू प्राथमिकतामा राखिने गाउँपालिकाले जनाएको छ।







