बाराको बहुप्रतिक्षित आयोजनाको रुपमा मानमत–कलैया–मटिअर्वा सडकखण्ड थियो । पूर्व–पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण सुरु गरिएको थियो । सदरमुकाम कलैयाको मुख्य बजार भरत चोक यही सडक अन्तर्गत पर्छ । २८ किलोमिटर लामो सडक आयोजनाको म्याद सक्किसकेको छ । तर दक्षिण देवीगञ्ज–कलैयाको भरत चोक हुँदै उत्तरतर्फ अवधापुरसम्म झण्डै साढे तीन किलोमिटर, कलैया–१२ शीतलपुर गाउँ र मटिअर्वा नहर चोकमा २ सय मिटर जति सडक बनेको छैन ।

सुरुमा सडकमा पर्ने घरजग्गा लगायतका संरचना नहटेर समस्या थियो । संरचना नहट्दै आयोजनाको म्याद सकियो । काम अधुरै रह्यो । समय थप नभएपछि ठेकेदारले बाटो तताइसकेको छ । सडकको अधुरो हुँदा सदरमुकाम कलैया कुरुप बनेको छ । सडक नबन्दा हिउँदमा मोटरसाइकल, साइकल चलाउँदा र पैदल हिँड्दा धुलाम्य हुनुपर्ने हुन्छ । वर्षायाममा खाल्डाखुल्डी भएर पानी जम्छ । सडक क्षेत्रको संरचना हटाइसकेको अवस्थामा सडक बन्न नसक्नु दुःखद् हो ।

पुरै सडक बनेको भए कलैयावासीका लागि सडक वरदान हुन्थ्यो । सडक नबन्दा कलैयामा ट्राफिक व्यवस्थापन असहज छ । सवारी साधनको चाप र सर्वसाधरणको भिडभाड बढेको छ । वर्षायाम सुरु भएपछि मुख्य सडक हिलाम्य नै हुन्छ । घाम चर्केपछि धुलो उड्छ । धुलोले स्वास्थ्य बिग्रिरहेको छ । उपमहानगरले पानी हालेपनि त्यसले थेग्दैन । सर्वसाधारणलाई हिँडडुल गर्न निकै कठिनाइ हुन्छ । मुख्य बजार क्षेत्रकै सडक नबन्दा व्यापारीहरु मर्कामा छन् । सदरमुकाम क्षेत्रमै सडक नबन्दा स्थानीय दुखित हुनु स्वभाविक हो । कलैयाको मुहार फेर्ने सडक नबनेर कलैयालाई कुरुप बनाउँदा सरोकारवाला मुकदर्शक छन् ।

कलैयाको मुटु भरतचोक हो । त्यसको र्दुदशा देखेर जो कोहिलाई दिक्क लाग्छ । नेताहरु त्यही चोकमा आन्दोलन, सभा गर्छन् । रक्तदान कार्यक्रमदेखि हरेक कार्यक्रम त्यहि गरिन्छ । त्यहि चोक विरामी पर्दा आवाज उठाईदिने कोहि छैनन् । भरत चोकमै बसेर भाषणमा स्मार्ट सिटीको कुरा गर्ने नेताहरुमा जिम्मेवारी बोध छैन । नत्र कलैयाको त्यस्तो दुर्दशा हुने नै थिएन ।

सरोकारवाला सडक नबन्नुमा एक अर्कोलाई दोष दिईरहेका छन् । त्यसैमा उनीहरु रमाईरहेका छन् । कतिपयले मुआब्जाको विषयलाई लिएर अदालतमा अड्को थापेका छन् । सरोकारवालाले गरेनन भनेर स्थानीय जनता पनि मुक दर्शक बन्नु हुँदैन । सडक कलोपत्रे गर्न समय लाग्छ भने तत्काल ग्रेभल गराउन सकिन्छ होला । त्यसका लागि दवाव दिनुपर्छ । दुःख कष्ट सहेर बस्ने हैन । हामीले भोट दिएर जनप्रतिनीधि चुनेको के का लागि ? पसिनाको कमाईबाट कर तिरेको के का लागि ? हिसाब खोज्नुपर्छ । जवाफदेहि र जिम्मेवार बनाउनुपर्छ । प्रश्न गर्नुपर्छ । त्यतिले पनि पुगेन भने दवावमुलक कार्यक्रम गर्नुपर्छ । कलैयालाई कुरुपताबाट मुक्ती दिनुपर्छ । सुन्दर, शान्त, हराभरा, सफा र आकर्षक कलैया बनाउन सबै जागरुक हुनुपर्छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर