साजिर मन्सूर
बारा,असोज ७
नेपाली सेनामा कार्यरत बारा सुवर्ण गाउँपालिका–१, सोलखपुरका सिपाही सुरज कुमार साह रसुवागढिमा आएको बिनासकारी बाढीमा परी सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि अवस्था अज्ञात रहेपछि परिवारले उनलाई मृतक घोषणा गरी अन्तिम सम्मानको व्यवस्था गर्न आग्रह गरेको छ।
सिपाही साह नेपाली सेनाको सम्बन्धित गणमा कार्यरत रहेको र ड्युटी खटिएको क्रममा बाढीमा परी सम्पर्कविहीन भएको परिवारले जनाएको छ। उनको जीवित वा मृत अवस्थाबारे यकिन हुन नसकेपछि सम्पर्कविहीन व्यक्तिको नातेदारका रूपमा परिवारले महाराजगञ्जस्थित पुलिस अस्पताल, काठमाडौंमा डीएनए परीक्षणका लागि नमुना समेत पेश गराएको भनेको छ ।
मृतक साहका पिता दिनकर साहका अनुसार आफ्नो पारिवारिक संस्कार तथा परम्पराअनुसार सम्पर्कविहीन छोरालाई मृतक मानेर सुवर्ण गाउँपालिका–१, सोलखपुरस्थित आमघाटमा असोज १० गते बिहान १० बजे कुशको शव बनाई अन्त्येष्टि गर्ने निर्णय गरिएको छ।
सोही निर्णयअनुसार नेपाली सेनाबाट प्रदान गरिने अन्तिम सम्मान उपलब्ध गराइदिन परिवारले सम्बन्धित गणका गणपतिलाई निवेदनमार्फत आग्रह गर्दै पत्र समेत लेखेका छन ।
साथै, भविष्यमा सिपाही साहको शव वा शारीरिक अवशेष फेला परेमा पुनः अन्तिम सम्मानको सुविधा माग नगर्ने व्यहोरासमेत परिवारले निवेदनमार्फत जानकारी गराएको छ। नेपाल आमाको सच्चा सपुतका रुपमा ड्युटी गरिरहेकै बेला आएको बाढिले अवस्था अज्ञात भएपछि उनको परिवार माथी सहनै नसक्ने चोट परेको स्थानियले बताएका छन । सारा सुवर्ण गापा सङ्गै जिल्लाबासी समेत नेपाल सरकार सङ्ग उनको परिवारलाई उचित ब्यवस्थापनका प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर