
बारा । जिल्ला प्रशासन कार्यालय बाराले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ । ती उद्योगमा अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो । अनुगमन पश्चात् कानुन बिपरित सञ्चालनमा रहेका उद्योगलाई कारबाही अघि बढाइने सहायक प्रजिअ शिवराज सेडाइँले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्लास्थित चारवटा बालुवा प्रशोधन उद्योगको कागजपत्र नियन्त्रणमा लिएर थप अनुसान्धान थालिएको हो । कागजपत्र नियन्त्रणमा लिइएका उद्योगमा बारास्थित समृद्धि बालुवा प्रशोधन उद्योग, बालगङ्गा बालुवा प्रशोधन उद्योग, जयलक्ष्मी बालुवा प्रशोधन उद्योग र बाराको कोलबीस्थित बिना दर्ता सञ्चालनमा रहेको अर्को एउटा बालुवा प्रशोधन उद्योग रहेका छन् ।
नदी उत्खनन् र दोहन भएको चौतर्फी गुनासो आएपछि अनुगमन गरेको जनाइएको छ । अनुगमन टोलीले यस क्षेत्रमा सञ्चालनमा रहेका अन्य चार क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट आवश्यक कागजपत्रसमेत नियन्त्रणमा लिएको थियो । बालगङ्गालगायत खोलामा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको बेलामासमेत क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका थिए ।जिल्लाभित्र २४ वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेका छन् ।