कलैया । बाराको प्रसौनी गाउँपालिका–५ पन्टोकामा पछिल्लो एक महिनादेखि निर्बाध रूपमा जुवा चलिरहे पनि प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छैन । कलैया मुख्य बजारदेखि पश्चिमपट्टि रहेको प्रसौनी–५ मा फुसको छाप्रो (गोठ) मा २०–२५ जना नेपाली र भारतीयहरूले नियमित जमघट गरी कौडा खेल्दै आएका हुन् । संगठित रूपमा नै कौडा खेलाउने, चर्को ब्याजमा ऋण दिनेलगायत गतिविधि भइरहेको स्थानीयको भनाइ छ । वडाध्यक्ष सनई साह तेलीले यसबारे प्रहरी र पालिका अध्यक्षलाई जानकारी गराए पनि नरोकिएको बताए । जुवाको माहोलका कारण स्थानीय पनि आजित भइसकेका छन् । दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको स्थानीयले बताए । गाउँका केही व्यक्तिले जुवाबारे सामाजिक सञ्जालमा गरेको पोस्ट भाइरल भए पनि प्रहरी प्रशासनले कारबाही गरेको छैन । जिल्लाका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले आफूलाई कौडा भइरहेकोबारे जानकारीमा आए पनि टोली पठाउँदा फेला नपरेको बताए । ‘अब आफैं पुग्नुपर्ने भएको छ,’ उनले भने ।
वीरगन्ज र कलैयाका सात/आठ जनाको एक समूहले साझेदारीमा दैनिक कौडा खेल्ने र खेलाउने गरेका हुन् । त्यसबाट उनीहरूले दैनिक दुई लाखसम्म कमाएर बाँडफाँट गर्ने गरेको स्रोतको भनाइ छ । ‘पहिला सीमापारि आदापुर र रक्सौलमा उनीहरूको समूह खेल्ने र खेलाउने गर्थे । अहिले उता कडाइ गरेपछि वारि खेल भइरहेको छ,’ उनले भने, ‘सुरक्षा अधिकारीहरूसित ‘सेटिङ’ मिलाएर भइरहेको छ ।’ कौडाको खेलले थुप्रै घरवारविहीन भएको उनले बताए । ‘पहिले पल्काउँछन् र हार्दै गएपछि ऋणसमेत दिन्छन्, हौसला बढाउँछन् । पछि सबै सिद्धिन्छ ।’

स्रोतका अनुसार कौडा खालमा पुग्न चारपाङ्ग्रे वा बाइकबाट आएका जुवाडेका लागि ५ सय मिटर परै राख्नुपर्ने व्यवस्था मिलाइएको छ । उनीहरूको सुरक्षा घेरा तीन तहको बनाइएको छ । कौडाको खालसँगै जमघट (हुल) भएको केही परसम्मको सबै नाकामा सुराकी तैनाथ हुने अपरिचित पस्न खोजे जुवाखालमा सूचना दिने गरेका छन् । त्यसकारण पनि सुरक्षा निकायले फेला पार्न नसकेको स्रोतको भनाइ छ । कान्तिपुर बाट साभार

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर