हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेस्कटप वा मोबाइलबाट एयरलाइन्सको वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।
प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।
एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, कार्डबाट भुक्तानी र वेब चेकइनजस्ता नवीनतम सेवा शुरु गर्ने योजना बनाएको जनाएको छ । नयाँ वेबसाइटबारे एयरलाइन्सका अध्यक्ष जोउ इन्योङ्ले भने, “हाम्रा ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ ।”
त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन सेवा कम्पनीको लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै हिमालय सधैँ आफ्ना ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित भएको जिकिर गरेका छन् ।रासस