लामिछाने सहकारी ठगीमा रहेका तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदन, सीआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती सुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतको परीक्षण नै पर्याप्त हुने थापाको भनाइ थियो ।
‘जीबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं बचतकर्ताहरूको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरू प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनैपनि द्विविधा छैन । तथ्य, प्रमाणका कुराहरू निस्किएका छन् । तथ्य, प्रमाण खोज्न पनि कहीँ पनि जानुपर्दैन । कसैले पेस पनि गर्नुपर्दैन । रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरू, सीआईबीले गरेको अनुसन्धान, जसमा लुकाइएको थियो । तर अहिले जुन बाहिर सार्वजनिक भएको छ,’ थापाले भने, ‘पोखरा महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर ल्याप्चे लगायतको यसको परीक्षण गर्नका लागि गरेको अनुरोध, त्यहाँभित्र रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरू, पत्रहरू, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ ।’
सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता हुन्छ कि हुँदैन भनेर बसिरहेको थापाको भनाइ छ । अहिले आफूलाई दिनमा १२/१५ सहकारी पीडितले सम्पर्क गरिरहेको थापाले बताए । थापाले भने, ‘उहाँहरूलाई अरु कुनैपनि कुराको सरोकार छैन । एक लाख, २ लाख, ५ लाख, १० लाख बचत छ । कि तुरुन्त बचत फिर्ता हुने अवस्था भएन भने परिवार, परिवार बीचमा अप्रिय घटना हुने अवस्थाहरू बन्ने अवस्था हामीले देखिरहेका छौं । कुनैपनि बेला यो धैर्यताको बाँध फुट्नसक्छ ।’
सहकारीको बचत फिर्ता गराउने काममा सरकारले ध्यान दिनुपर्ने पनि थापाको आग्रह थियो । उनले प्रधानमन्त्रीलाई आग्रह गरे, ‘तत्काल गम्भीर भएर बचत फिर्ता गराउने काम प्रारम्भ गराउनुभएन भने वा त्यो सुरु भयो भन्ने कुराको उहाँहरू आस्वस्त बन्ने आधार तय भएन भने थुप्रै अप्रिय घटनाहरू हाम्रो समाजमा भएको हामीले देख्ने अवस्था आउँछ । यो यी विषयहरूको बारेमा एकदमै गम्भीर बन्न प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु ।’
उपप्रधान तथा गृहमन्त्री लामिछानेले ‘चटके कुरा’ गर्न लागेको र आफूले त्यसलाई वास्ता नगरेको पनि थापाको भनाइ थियो । ‘हामी गम्भिरतापूर्वक भनिरहेका छौं, संसदीय समितिभित्र यिनै तथ्य प्रमाणहरूको आधारमा रवि लामिछाने जीबी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित हुन्छ । कुनै नयाँ कुरा चाहिँदैन । कहीँ कसैले केही ल्याउनै पर्दैन,’ थापाले भने ।
-कान्तिपुरबाट