साजिर मन्सूर
कलैया, साउन २२
आन्तरिक राजस्व कार्यालय सिमराले करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज कलैयामा ‘करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ।
बारा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायी, उद्योगी, लेखापाल, करदाता तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा कर प्रणाली, करदाताको अधिकार तथा दायित्व, समयमै कर विवरण तथा कर बुझाउने प्रक्रिया, विद्युतीय कर सेवा र प्रचलित कर कानुनका विषय सङ्गै बिशेष गरि आर्थिक ऐनले प्रदान गरेको छुट सङ्ग सम्बन्धित बिषयमा केन्द्रित रहेको थियो।
सो अवसरमा सहजीकरण गर्दै कर अधिकृत दिवाकर झाले आर्थिक ऐन २०८३ मार्फत सरकारले ल्याएको विभिन्न छुट तथा सहुलियत(स्किम) सम्बन्धी जानकारी गराएका थिए । यस स्किम अन्तरगत करका दायरामा नआएका,बिबरण नबुझाएका,कर विवरण बुझाएपनी कर नतिरेका,संशोधित कर निर्धारण भएका,कर प्रशासनको निर्णय उपर चित नबुझी विभिन्न सक्षम न्यायीक निकाय समक्ष मुद्दा बिचाराधिन रहेको लगायतका करदाताहरुको लागि आर्थिक ऐन का छुट सम्बन्धि दफाहरु आकर्षित हुने भएकाले सम्बन्धित करदाताहरुले २०८३ पुस मसान्त भित्र छुट लिन सक्ने जनाएका छन ।
कार्यक्रममा सहभागीहरूले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरूले ती जिज्ञासाको समाधान गर्दै कर प्रशासनलाई थप पारदर्शी, प्रभावकारी र सेवामुखी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए।
आन्तरिक राजस्व कार्यालय सिमराले करदाता र कर प्रशासनबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै अगाडि बढिरहेको आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख दिनेश पाण्डेले बताए । पान्डेले खासमा करदाताका माग अनुसार सदरमुकाम कलैयामा समेत कर अधिकृत रहने गरि ब्यवस्थापन का लागि उपल्लो निकायमा माग गर्ने प्रतिबद्धता जनाए ।
बारा उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह कलैयामा कर अधिकृतको ब्यवस्थापन गर्न तथा राजस्व कार्यालयले यस सम्बन्धमा पम्पलेटहरु बितरण गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा १५० बढी करदाताहरु सहभागी रहेको आन्तरिक राजस्व कार्यालय सिमराका नासु रमेश पटेलले जानकारी गराए ।







