कलैया, साउन १६।

बारा जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यले शनिबार सदरमुकाम कलैया लगायत विभिन्न स्थानमा व्यापक सहभागितासहित सद्भाव र्‍याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सम्पन्न र्‍यालीमा बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिताल तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य चन्दनकुमार सिंहको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु भएको र्‍याली कलैया बजारका विभिन्न मुख्य सडक हुँदै भरतचोक पुगेर समापन गरिएको थियो। सहभागीहरूले ‘हिन्दु–मुस्लिम भाइ–भाइ’, ‘सद्भाव र एकता कायम गरौं’ तथा ‘सामाजिक मेलमिलाप हाम्रो शक्ति’ जस्ता नारासहित शान्ति, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा जनचेतनामूलक सन्देश दिएका थिए।

र्‍यालीमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साह, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह , परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवरलगायत जनप्रतिनिधि, सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी हिन्दु तथा मुस्लिम धार्मिक संस्थाका प्रतिनिधि, मठ–मन्दिरका पण्डित–पुरोहित, मस्जिदका मौलवी, नागरिक समाज, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिने अफवाह र भड्काउ गतिविधिबाट सचेत रहँदै आपसी विश्वास, सहिष्णुता र सम्मानको वातावरणलाई अझ बलियो बनाउन सबै समुदायले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। बारा बहुजातीय, बहुभाषिक र बहुधार्मिक जिल्ला भएकाले यहाँको सामाजिक सद्भाव जोगाउनु सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उनीहरूको भनाइ थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार र्‍याली शान्तिपूर्ण, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। सहभागीहरूले आगामी दिनमा पनि यस्ता सद्भावमूलक कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा भाइचारा, विश्वास र एकताको भावना अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर