साजिर मन्सूर
कलैया, श्रावण २
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति बाराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन–२०८३ सम्पन्न भएको छ। अधिवेशनले रहमतुल्लाह मन्सूरलाई पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।
कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनमा जिल्लाभरका कपडा तथा सिलाई व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संघको संगठन विस्तार, व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमा देखिएका समस्या समाधान तथा व्यवसायीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सिलाई तथा कपडा व्यवसाय स्वरोजगारको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै लाखौं नेपाली यही पेशामार्फत आत्मनिर्भर बनेको बताए। उनले किसानले उत्पादनको प्रतिफलका लागि महिनौं कुर्नुपर्ने भए पनि सिलाई व्यवसायीले आफ्नो सीपका आधारमा केही घण्टामै आम्दानी गर्न सक्ने भएकाले यो पेशा सम्मानजनक र सम्भावनायुक्त रहेको धारणा राखे।
श्रेष्ठले व्यवसायीहरूलाई आफ्नो पेशाप्रति गर्व गर्न आग्रह गर्दै राज्यले सिलाई तथा कपडा व्यवसायलाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण कर्जा, सीप विकास र व्यवसायमैत्री नीति ल्याउनुपर्नेमा जोड दिए। उनले नवगठित कार्यसमितिलाई सबै पालिका र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै संघको विधानअनुसार सक्रिय रूपमा काम गर्न शुभकामना पनि व्यक्त गरे।
जिल्ला अध्यक्ष रहमतुल्लाह मन्सूरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सह–कोषाध्यक्ष मञ्जु कार्की, प्रदेश संयोजक अर्जुन तिमिल्सिना, महिला उद्यम संयोजक सीता थापा चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य साजिर मन्सूर, युवा नेता अब्दुलेश अन्सारी लगायतको उपस्थिति रहेको थियो।
अधिवेशनबाट अध्यक्षमा रहमतुल्लाह मन्सूर, उपाध्यक्षमा गुलटेन अन्सारी, सचिवमा अख्तर अन्सारी, सह–सचिवमा कृष्ण अधिकारी तथा कोषाध्यक्षमा बसिर मन्सूर सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा नेहा गिरी, रुक्सिदा अनवरी, जिरीमाया बल, अनिता देवी, अक्तर मियाँ र गुलगुल दास सर्वसम्मत रूपमा चयन भएको प्रदेश संयोजक अर्जुन तिमिल्सिनाले जानकारी दिए।
अधिवेशन सम्पन्न भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गराइएको थियो। नवगठित कार्यसमितिले आगामी कार्यकालमा व्यवसायीहरूको हक–हित संरक्षण, संगठन विस्तार तथा व्यवसायको आधुनिकीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







