बिश्वास सम्बादाता

कलैया, असार १०

बाराको देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै १६औँ गाउँसभा सम्पन्न गरेको छ।

गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सितापति देवी यादवको बिशेष उपस्थिति थियो । गाउँसभामा अध्यक्ष यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए। सार्वजनिक गरिएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिंचाइ, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ।

गाउँपालिकाले कृषिको आधुनिकीकरण, सिंचाइ विस्तार, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य संस्थाको सुदृढीकरण, ग्रामीण सडक स्तरोन्नति तथा खानेपानी व्यवस्थापनका कार्यक्रमलाई विशेष प्राथमिकतासाथ अघि बढाउने जनाएको छ। साथै महिला, दलित, विपन्न तथा पिछडिएका समुदायको उत्थानका लागि लक्षित कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द रायको कार्यसम्पादनको विशेष प्रशंसा गरिएको थियो। गाउँपालिका अध्यक्षसहित विभिन्न जनप्रतिनिधिहरूले सीमित स्रोत–साधनका बाबजुद प्रशासनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन रायले उल्लेखनीय योगदान पुर्‍याएको बताए। जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्दै विकास निर्माणका कार्यलाई गति दिन, आर्थिक अनुशासन कायम गर्न तथा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउन उनको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरिएको थियो।

स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत रायले गाउँपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र स्थानीयवासीबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासनमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

गाउँसभा समापन गर्दै अध्यक्ष यादवले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई थप तीव्रता दिँदै जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गरिने बताए। समृद्ध, आत्मनिर्भर र विकासोन्मुख देवताल निर्माणका लागि सबै पक्षको साथ, सहयोग र सुझाव आवश्यक रहेको उनको भनाइ थियो।

गाउँसभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर