साजिर मन्सूर
कलैया, साउन १३
गुरु पूर्णिमाको पावन अवसरमा कलैया उपमहानगरपालिका–२० बसतपुर बजारमा ‘काशी प्रसाद वाल अक्षयकोष’ स्थापना घोषणा तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा, गुरु सम्मान तथा विपन्न विद्यार्थीको शैक्षिक सहयोगलाई लक्षित गर्दै आयोजित कार्यक्रममा करिब २०० जना स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता श्री काशी प्रसादले गर्नुभएको थियो भने नेपाल शिक्षक संघ बारा अध्यक्ष राजकिशोर सहनी प्रमुख अतिथि र विज्ञान शिक्षक समाज बारा सचिव पवन यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा गुरुको सम्मान गर्दै उहाँले शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको थियो। सोही अवसरमा भावी पुस्ताको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले ‘काशी प्रसाद वाल अक्षयकोष’ स्थापना गर्ने औपचारिक घोषणा गरिएको हो। आयोजकका अनुसार अक्षयकोषका लागि विभिन्न दाताबाट करिब रु. २ लाख ५० हजार सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्री काशी प्रसादलाई दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए। सम्मान गर्नेहरूमा शिववालक गिरी, कृष्ण प्रसाद गुप्ता, प्रदीप कुमार गुप्ता, कपिलदेव प्रसाद, संजय यादव, प्रयाग पण्डित, बिनोद साह कानु, सुरेन्द्र यादव, हारुन अन्सारी, बिनोद प्रसाद, श्री नारायण महतो, छट्ठु साह, जितेन्द्र सिंह, मदन दाश बनिया, राम विजय साह, राजनन्दन यादव, ओमप्रकाश प्रसाद, जितेन्द्र साह लगायतका व्यक्तित्व सहभागी रहेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले गुरु सम्मानको संस्कृतिलाई निरन्तरता दिनुका साथै शिक्षा र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस्ता अभियान समाजका लागि अनुकरणीय र प्रेरणादायी हुने धारणा व्यक्त गरे। सहभागीहरूले अक्षयकोष स्थापना अभियानको खुलेर प्रशंसा गर्दै यसको सफल कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
आयोजकका अनुसार स्वेच्छाले सहयोग गर्न इच्छुक व्यक्तिहरूले भदौ मसान्तभित्र श्री कृष्ण प्रसाद गुप्तामार्फत रकम जम्मा गर्न सक्नेछन्। त्यसपछि संकलित रकम मुद्दती खातामा राखी त्यसबाट प्राप्त हुने ब्याजबाट कलैया उपमहानगरपालिका–२० का असहाय तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिनेछ।
कार्यक्रमको समापन गर्दै सभापति श्री काशी प्रसादले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, दाता, सम्मानकर्ताहरू तथा सहभागीप्रति आभार व्यक्त गर्दै अक्षयकोषलाई पारदर्शी, दीर्घकालीन र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकले कार्यक्रम अत्यन्त भव्य, सभ्य र उपलब्धिमूलक रूपमा सम्पन्न भएको जनाएको छ।







