बिश्वास डेस्क

बारा, श्रावण २

बाराको कलैया उपमहानगरपालिका–१९ रघुनाथपुरस्थित श्री चन्द्रावती कृषि व्यवसायिक फर्म मा गएराति गाई–भैँसीलाई खुवाउनका लागि राखिएको भुसामा आगलागी हुँदा करिब रु. २ लाखदेखि ३ लाख बराबरको क्षति भएको छ।

फर्मका प्रोप्राइटर प्रभु प्रसाद साहका अनुसार आगलागीबाट भुसा पूर्ण रूपमा जलेर नष्ट भएको छ। उनले घटनालाई सामान्य दुर्घटना नभई नियोजित आगजनी हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनका अनुसार यस घटनाभन्दा करिब एक साताअघि फर्मभित्र रहेको पोखरीमा पालिएको करिब रु. १ लाख बराबरको माछा समेत एक्कासी मरेको थियो। सुरुमा पानीको समस्या वा रोगका कारण माछा मरेको अनुमान गरिए पनि पछिल्लो आगजनीको घटनापछि कसैले विषालु पदार्थ हालेर माछा मारेको हुन सक्ने आशंका बलियो भएको उनको भनाइ छ।

प्रभु प्रसाद साहले केही समयदेखि गाउँका केही व्यक्तिहरूबाट निरन्तर मानसिक तथा सामाजिक रूपमा दुःख दिने, अपमानजनक व्यवहार गर्ने, गालीगलौज गर्ने, विभिन्न आरोप–प्रत्यारोप लगाउने तथा अनावश्यक विवाद सिर्जना गर्ने कार्य हुँदै आएको आरोप लगाएका छन्। केही समयअघि बाटो छेक्ने विषयलाई लिएर विवाद हुँदा कुटपिटसमेत भएको र सो सम्बन्धमा प्रहरीमा उजुरीसमेत दर्ता गरिएको उनले बताएका छन्।

उनका अनुसार पछिल्ला घटनाहरूलाई हेर्दा आफूलाई गाउँमा बस्न नदिने तथा विस्थापित गराउने उद्देश्यले योजनाबद्ध रूपमा विभिन्न गतिविधि गरिएको हुन सक्ने गम्भीर आशंका रहेको छ।

पीडित पक्षले माछा मर्ने र भुसामा आगजनी हुने घटनाहरू आपसमा सम्बन्धित हुन सक्ने भन्दै सम्पूर्ण घटनाको एकीकृत, निष्पक्ष र गम्भीर छानबिन गरी वास्तविक दोषीको पहिचान गरेर प्रचलित कानुनबमोजिम कारबाही गर्न तथा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यस विषयमा प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर