साजिर मन्सूर
कलैया, असार १२
वडाका स्थानीय कृषकको आयआर्जन वृद्धि गर्दै व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कलैया उपमहानगरपालिका–२६ मा भैंसी वितरण तथा खोर सुधार कार्यक्रम सुरु गरिएको छ।
रास्ट्रीय योजना आयोग सङ्ग लिईएको आर्थिक सहयोग एवम कलैया उपमहानगरपालिकाको समन्वय र वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र यादवको पहलमा सञ्चालित कार्यक्रमअन्तर्गत लक्षित कृषकलाई उन्नत भैंसी वितरण गर्नुका साथै व्यवस्थित खोर निर्माण तथा सुधारका लागि समेत सहयोग प्रदान गरिने भएर आज १२५ जना कृषकलाई भैंसी बितरण गरिएको छ।
कार्यक्रमको शुभारम्भका अवसरमा नगरप्रमुख बिनोद प्रसाद साह, उपप्रमुख रोषण प्रबिण तथा वडा अध्यक्ष धर्मेन्द्र यादवले संयुक्त रूपमा कृषकलाई भैंसी हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।
वडा अध्यक्ष धर्मेन्द्र यादवका अनुसार यस कार्यक्रममार्फत वडा भित्रका १४० कृषक परिवारलाई भैंसी उपलब्ध गराउने योजना रहेको भएपनी पहिलो चरणमा १२५ वटा भैंसी वितरण गरिएको छ भने बाँकी १५ वटा भैंसी आगामी दुई दिनभित्र वितरण गरिनेछ।
उनले पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउँदै कृषकको आर्थिक अवस्था सुधार गर्नुका साथै स्थानीय स्तरमै दुग्ध उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको बताए। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न पनि यो अभियान प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
भैंसी प्राप्त गरेका कृषकहरूले यस कार्यक्रमले पशुपालन व्यवसाय विस्तार गर्न नयाँ अवसर सिर्जना भएको प्रतिक्रिया दिएका छन्। खोर सुधारका लागि प्राप्त सहयोगले पशुको स्वास्थ्य, सरसफाइ र उत्पादन क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको अपेक्षा छ।
कलैया उपमहानगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर अनुदान, प्राविधिक परामर्श, पशु स्वास्थ्य सेवा तथा आधुनिक प्रविधिको प्रयोगलाई निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउनुका साथै कलैयालाई व्यावसायिक दुग्ध उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
भैंसी पाएका किसानहरुले खुशी हुँदै वडा अध्यक्षको प्रसंशा गरेका छन । उनिहरुले यस्ता यस्ता योजना अझ ल्याएर अन्य नपाएका कृषकहरुलाई समेट्न आग्रह गरेका छन ।







