साजिर मन्सूर
कलैया, असार ८
स्वास्थ्य कार्यालय बाराका निमित्त कार्यालय प्रमुख तथा नेपाल निजामती सेवाका उपसचिव (द्वितीय)/निर्देशक राम नरेस यादव ३२ वर्ष ७ महिनाको लामो, निष्कलंक र गौरवपूर्ण सरकारी सेवा पूरा गरी अनिवार्य अवकाशमा जानुभएको छ।
तथ्यांक सहायकबाट निजामती सेवाको यात्रा सुरु गर्नुभएका यादवले तथ्यांक अधिकृत हुँदै उपसचिव (द्वितीय)/निर्देशक पदसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको हो। विशेष गरी स्वास्थ्य कार्यालय बाराको निमित्त कार्यालय प्रमुखका रूपमा ६ वर्षभन्दा बढी समय नेतृत्व सम्हाल्दै उहाँले जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताएका छन।
उहाँको नेतृत्वमा बारा जिल्लामा हैजा विरुद्धको खोप अभियान, महामारी नियन्त्रण, स्वास्थ्य सचेतना अभिवृद्धि तथा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र निरन्तर बनाउन महत्वपूर्ण भूमिका निर्वाह भएको स्वास्थ्यका बिज्ञहरुले बताएका छन ।
अवकाश ग्रहण गर्दै यादवले बारा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी, जिल्लाभरका स्वास्थ्यकर्मी, सन्चारकर्मि र स्वास्थ्य कार्यालय बारा परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले सबैको साथ, सहयोग र समन्वयका कारण आफूले जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकेको उल्लेख गर्नुभएको छ।
यादवले सेवा अवधिमा जान-अन्जानमा भएका कमी–कमजोरीका लागि क्षमायाचना गर्दै बारा जिल्लासँगको आफ्नो भावनात्मक सम्बन्ध सधैं कायम रहने विश्वास व्यक्त गर्नुभएको छ। साथै उहाँले सबैको सुख, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
३२ वर्षभन्दा लामो सरकारी सेवामा इमान्दार, समर्पित र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा परिचित यादवको अवकाशसँगै बारा जिल्लाले अनुभवी र कुशल प्रशासकीय नेतृत्वलाई औपचारिक रूपमा विदाइ गरेको छ।







