साजिर मन्सूर
कलैया,बैशाख २८
प्रसौनी गाउपालिकाको नया प्रशासकिय भवन निर्माण भए सङ्गै आज बिधिवत रुपमा पुजा पाठ सकिएको छ । गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले भवनको बिधिवत पुजापाठ गरेका छन । अध्यक्ष जयस्वालले बैशाख ३१ गते शोमबार नेकपा एमाले अध्यक्ष पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गर्ने जनाएका छन । आफ्नो अथक प्रयासबाट जनताले सहज सेवा प्राप्त गर्न आवस्यक बाताबरण निर्माणका लागि समयमै सबै योजनाहरु सम्पन्न गराएको बताए ।
उहाँका अनुसार नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिक,मिटिङ्ग हल लगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् ।
यता, गाउँपालिकाकी उपाध्यक्ष किरण देबि साहले नव निर्मित भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताउनुभयो । साथै उहाँले पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले गाउपालिकाको पुर्ण स्वामित्वको प्रशासकिय भवन नहुदा दैनिक सेवाग्राहीहरुलाई सेवा दिन असहज हुँदै आएको बताउदै भवन निर्माण सङ्गै आफुहरुले जनताको कामलाई छिटो छरितो बनाउने बताए । उनले पहिला सेवाग्राही लाई समेत बस्ने स्थानको कमि भएका कारण असहज हुँदै आएको स्मरण गरेका छन।
संघीय सरकारको रु. ४ करोड ९० लाख ९५ हजार ४ सय ७७ बजेट रहेकोमा नागा अर्जुन आशिका जेभी बालाजु काठमाडौंले रु.३ करोड ४१ लाख ८९ हजार ५ सय ५ मा ठेक्का सकार गरि सो भवन निर्माण गरि सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले जनाए । प्रसौनी गाउपालिका वडा नम्बर १ मा रहेको कृषि भवन को प्राङ्गणमा रहेको पोखरी लाई भरेर सो भवन निर्माण गरिएको हो । कलैया बिरगंज सडक खण्ड सङ्गै टासिएको प्रशासकिय भवन सम्पन्न भए सङ्गै गाउपालिकाका सेवाग्राहीलाई सेवा लिन आउन जान अत्यन्तै सहज हुने बिश्वास लिईएको छ ।
२०७८ साल मङ्सिर २४ गते शुक्रबार शिलान्यास भएको भवन सम्पन्न भएको हो । तत्कालिन निमित प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार साहले अपाङ्ग मैत्री प्रशासकिय भवन बनाउने प्रतिबद्धता अनुसारकै भवन बनेपछि नेपाल अपांग संघले धन्यवाद दिएको छ ।







