बिश्वास डेस्क

कलैया,बैशाख ११

बारामा सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि अन्ततः कडा कारबाही गरिएको छ। मानमत–कलैया–मटिअर्वा सडकखण्डको स्तरोन्नति जिम्मा लिएको कम्पनीसँगको ठेक्का सम्झौता आधिकारिक रूपमा तोडिएको छ भने उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिससमेत गरिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय, वीरगन्जले जारी गरेको सूचनाअनुसार सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी., काठमाडौंले पटक–पटक म्याद थप गरिँदा पनि काममा अपेक्षित प्रगति देखाउन नसकेपछि ठेक्का रद्द गरिएको हो। ठेक्का नं. HRP/337011284/077-78/UR-005 अन्तर्गत रहेको सडक स्तरोन्नति कार्य लामो समयदेखि अधुरै रहँदा स्थानीयवासीले सास्ती भोग्दै आएका थिए।

निर्माण कम्पनीको लापरबाहीका कारण सडक धुलाम्मे र वर्षायाममा हिलाम्मे बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको थियो भने सर्वसाधारणको दैनिक आवागमन निकै कष्टकर बनेको कार्यालयले जनाएको छ।

योजना कार्यालयका अनुसार कम्पनीलाई बारम्बार लिखित र मौखिक निर्देशन दिइएको थियो। कम्पनीले काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रगति नदेखिएपछि अन्तिम रूपमा २०८२ असोज ३१ गते १५ दिने स्पष्टीकरण सोधिएको थियो। तर त्यसपछिसमेत सुधार नआएपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का तोड्ने निर्णय गरिएको हो।

अब सम्बन्धित कम्पनीको कार्यसम्पादन जमानत जफत गरिने, बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च सरकारी बाँकीसरह असुलउपर गरिने तथा कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

त्यसैगरी, हालसम्म सम्पन्न कामको नापजाँच, मूल्यांकन तथा आर्थिक हिसाब फरफारखका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन कम्पनीलाई अन्तिम अवसर दिइएको छ। तोकिएको समयभित्र उपस्थित नभए एकतर्फी रूपमा प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

यता बारा नागरिक समाज का अध्यक्ष उमेशलाल दासले यो कदमलाई केवल देखावटी नभएर तुरुन्त जनताको भावना बमोजिम काम सम्पन्न गराउन समबन्धित सरोकारवाला सङ्ग आग्रह गरेका छन । कानुनी दाउपेच मा लागेर ठेकेदारले मुद्दा गरि फेरि प्रक्रिया नलम्ब्याउन तर्फ सचेत गराएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर