साजिर मन्सूर
कलैया,असार २
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत मिडिया काउन्सिल, मधेश प्रदेशद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
बारा सदरमुकाम कलैयामा आयोजित कार्यक्रममा अतिथिका रूपमा सहभागी वक्ताहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, पेशागत उत्तरदायित्व तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनको आवश्यकतामाथि जोड दिएका थिए। सहभागीहरूबीच जिम्मेवार, तथ्यपरक र मर्यादित पत्रकारिताको अभ्यासलाई थप सुदृढ बनाउने विषयमा अन्तरक्रिया समेत गरिएको थियो।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बारा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोनलले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सही र तथ्यपरक सूचना उपलब्ध गराउन पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पत्रकारितालाई जनउत्तरदायी, सत्यनिष्ठ र निष्पक्ष बनाउन सञ्चारकर्मीले पेशागत मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गर्दै पत्रकारिता आचारसंहिता, सञ्चार क्षेत्रका समकालीन चुनौती, डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, समाचार लेखनका आधारभूत सिद्धान्त तथा व्यावसायिक पत्रकारिताका विविध आयामबारे प्रशिक्षण दिनुभयो।
उहाँले पत्रकारिताको विश्वसनीयता कायम राख्न तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण अपरिहार्य रहेको उल्लेख गर्दै अफवाह, अपुष्ट सूचना तथा सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगबाट जोगिन पत्रकारहरू सचेत हुनुपर्ने बताउनुभयो।
कार्यवाहक अध्यक्ष बन्दना झाले मिडिया काउन्सिलले प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता विकासका लागि यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले पत्रकारितालाई थप जिम्मेवार, विश्वसनीय र मर्यादित बनाउन निरन्तर तालिम र अभिमुखीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले कार्यक्रमबाट पत्रकारिता आचारसंहिता, व्यावसायिक नैतिकता तथा वर्तमान सञ्चार क्षेत्रका चुनौतीबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रमको सञ्चालन मिडिया काउन्सिलका प्रशासकीय अधिकृत ओमबिक्रम कटुवालले गर्नुभएको थियो भने स्वागत श्याम बन्जाराले गरेका थिए ।
कार्यक्रममा सञ्चारकर्मी, सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणले पत्रकारितामा स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्दै जिम्मेवार सञ्चार अभ्यासलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।







