साजिर मन्सूर

कलैया, असार १

राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको स्थलगत तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ। जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासका अनुसार हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा व्यवसाय तथा प्रतिष्ठानको गणना सम्पन्न भइसकेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंले बारा जिल्लाका लागि २० हजार ९ सय २१ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर, जिल्ला आर्थिक गणना कार्यालय बाराले निर्धारित लक्ष्यभन्दा बढी प्रतिष्ठानको अभिलेखीकरण गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रारम्भिक तथ्याङ्कले पछिल्ला वर्षहरूमा बारामा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथा व्यवसायिक प्रतिष्ठानहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखाएको छ। यसले जिल्लाको आर्थिक क्षेत्र क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको जिल्ला आर्थिक गणना अधिकारी दासले बताउनुभयो।

नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन गरिरहेको छ। देशव्यापी रूपमा २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने गणना कार्यक्रमअन्तर्गत बारामा ६६ जना गणक र ९ जना सुपरिवेक्षक परिचालन गरिएका छन्।

उनीहरूले स्थानीय तह, वडा कार्यालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी उद्योग, व्यापार, सेवा, होटल, रेष्टुरेन्ट, निर्माण सामग्री, वित्तीय सेवा, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको स्थलगत विवरण सङ्कलन गरिरहेका छन्।

जिल्लाका १६ वटै स्थानीय तहमा गणना कार्य प्रभावकारी रूपमा अगाडि बढिरहेको जनाउँदै अधिकारी दासले जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय तह, व्यवसायी, सन्चारकर्मी तथा सरोकारवालाहरूबाट प्राप्त सहयोगका कारण कार्य सफलतापूर्वक अघि बढेको बताउनुभयो।

राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानबारे यथार्थ चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसबाट प्राप्त विवरण सरकारका विभिन्न तहमा नीति निर्माण, विकास योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

जिल्ला आर्थिक गणना कार्यालयले गणनामा छुटेका प्रतिष्ठानहरूलाई आवश्यक विवरण उपलब्ध गराई गणना कार्यमा सहयोग गर्न आग्रह गरेको छ। अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि बाराको आर्थिक संरचना, व्यवसायिक प्रवृत्ति तथा रोजगारीको अवस्थाबारे थप स्पष्ट चित्र प्राप्त हुने अधिकारी दासले जानकारी दिनुभयो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर